काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको हो ।
आजबाट सरकारले फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० जारी गरेर सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले सूचीकरणमा नआए बन्द गर्ने धम्की दिँदै पटक पटक समय दिएर सूचीकरण गर्न भनेको थियो ।
करमा दर्ता थिए फेसबुकसहितका कम्पनी
यसअघि नै फेसबुकसहितका करिब २० डिजिटल सेवा प्रदायकहरू आन्तरिक राजस्व विभाग अन्तर्गत ठुला करदाता कार्यालयमा दर्ता भएर कर बुझाउँदै आएका थिए ।
सरकारको निर्णय बमोजिम आन्तरिक राजस्व विभागको २०७९ असार ३१ गते जारी गरेको विद्युतीय सेवा कर सम्बन्धि कार्यविधिअन्तर्गत दर्ता भइ गुगल, लिंकडइन, मेटा प्लाटफर्म्स, माइक्रोसफ्ट र एप्पल सर्भिस प्रालि लगायतका कम्पनी दर्ता भइ सरकारलाई डिजिटल सेवा कर (डिएसटी) र मूल्य अभिवृद्धि कर (भ्याट)समेत तिरिरहेका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा फेसबुक लगायतका कम्पनीहरूले पहिलो पटक ७० लाख रुपैयाँ डिजिटल सेवा कर (डिएसटी) तिरेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ३० लाख रुपैयाँ सो कर तिरेका थिए । भ्याट बापत पनि लगभग सोहीअनुपातमा कर तिरेको विभागका अधिकारीहरू बताउँछन् ।
“भारतले समेत डिएसटी लागु गर्न नसकेको अवस्थामा नेपालमा सुरुवात भएको थियो । कानुन र निर्देशिका नै नबनाइ यसरी बन्द गर्ने निर्णय गर्नु सही कदम भएन,” विभागका एक पूर्वमहानिर्देशकले भने ।
प्रतिक्रिया दिनुहोस्