दुग्ध तथा उखु किसानका समस्या समाधान गर्न सरकारले सक्रिय रूपमा काम गरिरहेको छः मन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध तथा उखु किसानका समस्या समाधान गर्न सरकारले सक्रिय रूपमा काम गरिरहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अधिकारीले हाल उत्पन्न भएको मल अभाव समाधान गर्न पनि सरकार तत्पर रहेको जानकारी दिएका हुन्। उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा यान्त्रिकरण र औद्योगिकीकरणको विकास अपरिहार्य रहेको बताए ।

उनका अनुसार आत्मनिर्भर बन्न सबै नागरिकले आफ्नो खेतबारीमा खेती गर्नुपर्ने आवश्यक छ । व्यवसायिक खेती गर्ने किसानलाई सरकारले अनुदानमार्फत प्रोत्साहन गरिरहेको पनि उनले स्पष्ट पारे ।

मन्त्री अधिकारीले भने, “कृषिमा आत्मनिर्भरता प्राप्त गर्न किसानको उन्नति र प्रगति सुनिश्चित गर्नुपर्छ । व्यवसायिक किसानलाई आधुनिकीकरण, यान्त्रिकरण र औद्योगिकीकरणको माध्यमबाट अगाडि बढाउन सके नेपाल आफैंमा आत्मनिर्भर मुलुक बन्न सक्छ । तबमात्रै हामी कृषिप्रधान देशका नागरिकका रूपमा चिनिन सक्छौं ।”

उनले उखु किसानको भुक्तानी, दुग्ध किसानको भुक्तानी र मल अभावका विषयमा सरकार अत्यन्त सक्रियताका साथ काम गरिरहेको दोहोर्याए । साथै, कुनै पनि क्षेत्रमा विदेशमा निर्भर रहनु दीर्घकालीन रूपमा समस्याजनक हुने भन्दै उनले घरेलु उत्पादन वृद्धि गरी आत्मनिर्भर मार्गतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।