काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावका कारण कृषकहरू ठूलो समस्यामा परिरहेको भन्दै यसको दीर्घकालीन समाधानका लागि नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रासायनिक मल अत्यन्तै महँगो हुने र भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकाले पर्याप्त मात्रामा आपूर्ति गर्न नसकिएको बताएका हुन् । उनले नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आत्मनिर्भर बन्न अर्गानिक खेतीतर्फ अघि बढ्न सबैलाई आग्रह गरे।
देउवाले भने, “भारतले पनि मल विदेशबाट आयात गर्छ, हाम्रो देशमा त उत्पादन हुने अवस्था छैन। भारतबाट किनेर ल्याउनुपर्छ, त्यो पनि महँगो पर्छ र समयमा पाउन सकिँदैन। किसानहरू मल नपाएर पीडित छन्। त्यसैले दीर्घकालीन समाधानका लागि नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्ने अनिवार्यता छ। अर्गानिक खेतीतर्फ लाग्न सके हामी सबैलाई फाइदा हुन्छ र आत्मनिर्भर बन्न सक्छौं।”
उनले कुनै पनि क्षेत्रमा विदेशको भर पर्नु दीर्घकालीन दृष्टिले समस्या बन्न सक्ने भन्दै कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतामा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्