एमाले विधान महाधिवेशन : कार्यक्रम स्थलको खर्च ६ करोड रुपैयाँभन्दा बढी हुने अनुमान


ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराज ई हलमा सुरु हुँदैछ ।

महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने र यस अवधिमा करिब ६ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको छ ।

खाना तथा खाजामात्रै शीर्षकमा ठुलो रकम खर्च हुने देखिएको छ । महाधिवेशनका सहभागी ३ हजार ५ सय जनाका लागि खानाको व्यवस्था गरिएको छ ।

प्रतिनिधिहरुलाई दुई छाकको खानाको व्यवस्था गरिएको छ । भोलि र पर्सि बिहानको मात्र खानाको व्यवस्था गरिएको छ ।

सहभागीहरुका लागि आज, भोलि र पर्सि गरी ३ दिनको खाजाको व्यवस्था गरिएको छ । खाना र खाजामा ४ करोड बढी खर्च हुने अनुमान गरिएको छ ।

महाधिवेशन स्थल वरिपरि स्वागतद्वार निर्माण गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला समिति तथा विभिन्न जनसङ्गठनमार्फत १८ वटा स्वागतद्वार निर्माण गरिएको छ, जसमा करिब १८ लाख रुपैयाँ खर्च भएको अनुमान छ ।

प्रतिवेदन छपाइ र वितरणका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ । करिब २५०० प्रतिवेदन ५०० रुपैयाँ दरले छपाइ गर्दा १२ लाख ५० हजार खर्च हुने देखिएको छ ।

सहभागीका लागि कार्ड छपाइमा ३ लाख र टोपी–झोलामा करिब ७ लाख २ हजार ३ सय खर्च हुने अनुमान गरिएको छ ।

यस बाहेक मञ्च व्यवस्थापन, माइक, भाडा र अन्य प्राविधिक व्यवस्थापनमा थप खर्च हुनेछ । यसरी कार्यक्रम स्थलको मात्रै ६ करोड बढी खर्च हुने अनुमान छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३४१ जना सहभागी हुनेछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु हुँदैछ ।

आजै हुने बन्दशत्रमार्फत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ भने उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षहरूले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । भोलिदेखि ९ वटा समूहगत छलफल हुने र अन्तिम दिन निष्कर्ष प्रस्तुत गर्दै महाधिवेशन समापन गरिनेछ ।