काठमाडाैँ । चालु आर्थिक बर्ष २०८२/८३ सुरू भएयता नै घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त तथ्यांकअनुसार साउनमा कारोबारमा गिरावट आएको छ । २०८१ साउनमा नेपालभर ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो ।
गत साउनमा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ । जुन गत आवको सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो ।
गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभर ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५ सय ४३ वटा घरजग्गा कारोबार भएको थियो ।
समिक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार २० वटा घरजग्गाको कारोबार भएको छ । साउनमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० वटा घरजग्गा कारोबार भएको देखिन्छ ।
यस्तै काठमाडौँमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चावहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १११ घरजग्गाका कारोबार भएका छन् ।
साउनमा भारी गिरावट आएको घरजग्गा कारोबार भदौमा पनि निराशाजनक रहेको व्यवसायीहरूले बताएका छन् । लचिलो मौद्रिक नीति आएपछि घरजग्गा कारोबारमा उछाल आउने अपेक्षा गरेपनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए ।
उनकाअनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ । अध्यक्ष घिमिरेले घरजग्गा कारोबार प्रभावित हुनुमा आर्थिक शिथिलता पनि एउटा कारण रहेको बताए । सरकारले कित्ताकाट अब पनि नखुलाए अवस्था झन् भयावह हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्