प्राइम एसोसिएट्स बन्यो नेपालमा विटगन ग्रुपको आधिकारिक विक्रेता


काठमाडौँ । निर्माण उपकरण तथा औजार उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी विटगन ग्रुपका अत्याधुनिक उत्पादन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध हुने भएका छन्।

प्राइम एसोसिएट्स प्रा.लि. ले नेपालभरका लागि विटगन ग्रुपका उत्पादनहरूको आधिकारिक विक्रेताको जिम्मेवारी पाएको हो।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विटगन ग्रुपका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश पलागिरी र प्राइम एसोसिएट्सका कार्यकारी निर्देशक दीपक आचार्यले संयुक्त रूपमा सो घोषणा गरेका हुन्।

१८ वर्षदेखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट क्षेत्रमा कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले यसअघि सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर, बुमर, स्टोन क्रसर, तथा कफ्रिटिङका लागि सेल्फ लोडेड मिक्सचरजस्ता उपकरणहरूको आपूर्ति गर्दै आएको छ।

अबदेखि प्राइम एसोसिएट्सले विश्वविख्यात जोन डियर ग्रुप अन्तर्गतको विटगन ग्रुपका आधुनिक निर्माण उपकरणहरूको बिक्री वितरण गर्ने भएको हो।

विटगन, भोग्ले, ह्याम र क्लिम्यान ब्रान्ड अन्तर्गतका उत्पादन विश्वका विभिन्न देशमा सडक निर्माण, पुनर्स्थापना तथा खानी उद्योगमा सफलतापूर्वक प्रयोग हुँदै आएका छन्। सोही उत्पादन अब नेपालका सडक, पुल, भवन तथा अन्य आधारभूत संरचना निर्माणमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

सन् १९९५ मा भारतको पुनेमा स्थापनादेखि विटगन ग्रुप अन्तर्राष्ट्रिय स्तरमा सक्रिय बहुराष्ट्रिय कम्पनीका रूपमा परिचित छ। यस समूहका मेसिनहरू गुणस्तरीय, भरपर्दाे तथा नवीनतम प्रविधि प्रयोग गर्ने भएकाले विश्वसनीय मानिन्छ।

नेपालमा ह्यामका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोग्लेका पेभर मेसिन, विटगनका मिलिङ मेसिन र सर्फेस माइनर, क्लिम्यानका स्टोन क्रसर तथा खानी सञ्चालनका उपकरणहरू उपलब्ध हुनेछन्।

यसै अवसरमा ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। दुई भाइब्रेटिङ ड्रमसहितको सो रोलरमा वातावरणमैत्री इन्जिन प्रविधि, बजनलाई बराबर फैलाउने थ्री–पोइन्ट आर्टिक्युलेसन, इर्मोनोमिक ड्राइभर प्लेटफर्म, उत्कृष्ट भिजुअल क्ल्यारिटी र इन्टेलिजेन्ट वाटर स्प्रिंकलर सिस्टम जस्ता विशेषता रहेको कम्पनीको दाबी छ ।

प्राइम एसोसिएट्सका अनुसार नेपालभर विटगनका उत्पादनहरूको सर्भिस नेटवर्क उपलब्ध हुनेछ। दक्ष प्राविधिकद्वारा बिक्री पछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्स आपूर्ति समेत सुनिश्चित गरिएको छ।