काठमाडाैँ । रेडियन्ट रिडर्स एकेडेमीले आज विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ‘सेतो धर्ती ’ पुस्तकका लेखक अमर न्यौपाने र विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीबिच अन्तरक्रिया तथा पुस्तक समीक्षा गरिएको हो ।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा करिब १७० विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेका थियाे । कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले ‘सेतो धरती’ पुस्तकका विषयमा चार समूह बनाएर सामूहिक समीक्षा प्रस्तुत गरेका थिए ।
समीक्षामा बाल विवाह, विधुवा जीवन तथा त्यसबाट समाजमा भोग्नु परेका पीडाबारे गहिरो छलफल भएकाे थियाे । विद्यार्थीहरूले पुस्तकमा उठाइएका मुद्दाहरूबारे आफ्ना विचार राख्दै साहित्यले समाजमा ल्याउन सक्ने सकारात्मक प्रभावबारे समेत चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक अमर न्यौपाने स्वयं उपस्थित भएर करिब डेढ घण्टासम्म विद्यार्थीहरूको प्रश्नको जवाफ दिए। उनले ‘सेतो धर्ती ’ लेख्दाको अनुभव, बाल विवाह र विधवा जीवनका संवेदनशील विषयमा आफूले गरेका अध्ययन–अनुसन्धान तथा साहित्यले समाजमा गर्न सक्ने योगदानबारे आफ्ना विचार राखे ।
‘मदन पुरस्कार’ प्राप्त ‘सेतो धर्ती ’ पुस्तकका विषयमा लेखकसँग प्रत्यक्ष जिज्ञासा राख्ने अवसर पाएपछि विद्यार्थीहरू निकै उत्साहित बने । विद्यार्थीहरूले साहित्यप्रति आकर्षण बढाउने, प्रश्न सोध्ने क्षमता अभिवृद्धि गर्ने र सिर्जनशील बन्ने अवसर पाएको बताएका छन् । विद्यालय प्रशासनले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई सृजनशील र चिन्तनशील बनाउन लाग्ने उद्घोष गरेको छ ।
प्रतिक्रिया दिनुहोस्