विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको होः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको भएको बताएका छन् ।

निजामति सेवा दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामति सेवाको भुमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामति सेवाले त्यसअनुरुप आफूलाई समायोजन, अनुकुलन र परिष्कृत गर्नु अपरिहार्य रहेको बताए । सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामति कर्मचारीहरु अझ प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिए ।

समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हाँसिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भुमिका वहन गर्नुपर्ने उनकाे भनाइ छ ।

उनले मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी भएको जिकिर गरे ।

उपप्रधानमन्त्री सिंहले शासन व्यवस्थाको मेरुदण्डका रुपमा रहेको निजामति सेवा राष्ट्र निर्माणको अभिन्न अंग भएको बताए । नेपालको संविधानको मर्म र भावनालाई आत्मसाथ गरी संघीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचार शुन्य  सहनशिलताको नीतिलाई केन्द्रमा राखि नेपाल सरकार अघि बढिरहेको उनले उल्लेख गरे ।

आम जनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामति कर्मचारीको क्रियाशिलता थप अभिवृद्धि हुने उनले बताए ।

प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रुपमा अपेक्षा गरिएको संघीय निजामति सेवा विधेयकलाई संसदबाट यथाशक्य छिटो पारित गराइ कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।