कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन : काम पन्छाउने होइन, नागरिकमैत्री सेवा दिन तयार हुनुहाेस्


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्ति अन्त्य गरी निजामती सेवामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

बदलिंदो विश्व परिवेश, प्रविधि र जनअपेक्षाअनुरूप कर्मचारीले आफूलाई रुपान्तरण गर्नुपर्नेमा उनले जोड दिए । आज निजामती सेवा दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले निजामती सेवालाई सरकारलाई जनतासम्म पुर्याउने मुख्य संयन्त्रका रूपमा चित्रण गर्दै भनेका छन्, “सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने काम नै निजामती सेवाको प्रभावकारिता हो । अब सेवाले नागरिक खोज्ने बेला आएको छ, टेबल र कुर्सीमा सीमित नभई प्रविधिमार्फत सेवा विस्तार गर्नुपर्छ ।”

उनले पछिल्ला दिनमा निजामती सेवाका आदर्श, आचरण र जवाफदेहितामा गिरावट आएकाले नागरिकको विश्वास घटेको जनाउँदै, जनतालाई झन्झट र दुःख दिने अभ्यास अस्वीकार्य हुने चेतावनी दिए । सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पणमार्फत मात्र राज्यले जनताको विश्वास जित्न सक्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संसदमा पारित हुने क्रममा रहेको निजामती विधेयक कर्मचारी वर्गको उन्नयनसँगै संघीयताका कार्यान्वयनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । “मानव पुँजी व्यवस्थापन र परिचालनमार्फत प्रशासनिक संघीयतामा एक फड्को मार्ने संघारमा हामी छौं,” उनले भने ।

प्रविधिमैत्री सुशासनलाई आजको आवश्यकता ठहर गर्दै ओलीले डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र अनलाइन सेवामार्फत छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराए । नागरिकलाई एउटै प्लेटफर्ममार्फत सेवा दिन ‘नागरिक एप’ कार्यान्वयन गर्ने सरकारको नीति उनले सन्देशमा उल्लेख गरे ।

त्यसैगरी, सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरी सर्भिस म्यापिङ, सार्वजनिक खर्चमा मितव्ययिता, दरबन्दी पुनरावलोकन र पारदर्शी प्रशासनिक अभ्यासलाई संस्थागत गर्न थालेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले निजामती सेवाले यसलाई सफल बनाउन अग्रसर हुनुपर्ने बताए ।

“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य हासिल गर्न निजामती सेवकको सिर्जनशीलता अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै कर्मचारीलाई उच्च मनोबलका साथ नागरिकमैत्री, परिणाममुखी र संवेदनशील सेवामा समर्पित हुन आह्वान गरे ।

शुभकामना सन्देशमा उनले नयाँ पुस्ताको आकाङ्क्षा, प्रविधिमा आधारित सेवा, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र दिगो आर्थिक–सामाजिक रुपान्तरणको यात्रामा निजामती सेवाको योगदान अझ सबल र गतिशील बन्नुपर्नेमा जोड दिए । निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई उनले उज्ज्वल भविष्यको शुभेच्छा प्रकट गरेका छन् ।