केही टेण्डरहरूमा महिलालाई मात्रै प्रतिष्पर्धा गर्ने व्यवस्था मिलाइयोस्ः अध्यक्ष सिंह


काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण महिला व्यवसायीहरूलाई राज्यले प्रोत्साहन गर्न केही टेण्डरहरुमा महिलालाई मात्रै प्रतिष्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको निर्माण व्यवसायी महिला समन्वय समितिले आइतवार आयोजना गरेको निर्माण व्यवसायी महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

महिला बिचमा मात्रै केही टेण्डरहरुमा प्रतिष्पर्धा गर्ने व्यवस्था गरिएमा निर्माण व्यवसायी महिलाहरुलाई केही सहज हुने उनकाे भनाइ छ । उनले निर्माण व्यवसायीले पाउने पेश्कीको सुविधामा पनि महिला व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले विद्यमान ऐनले व्यवस्था गरेको २० प्रतिशतसम्म पेश्की दिने प्रावधान महिलाहरूको हकमा तुरुन्त लागू गर्न सरकारसँग माग गरे। उनकाअनुसार राज्यले निर्माण व्यवसायीलाई २० प्रतिशतसम्म पेश्की दिने ऐनमा व्यवस्था गरेपनि हाल १० प्रतिशत मात्रै पेश्की दिइरहेको छ ।