काठमाडाैँ । आज निजामति कर्मचारी सेवा दिवस । संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन ।
स्थायी सरकारको रूपमा रहेको निजामति प्रशासनको लापरवाही र हेलचेक्राईंका कारण आम सर्वसाधारणहरू प्रतिदिन आफ्ना समस्याहरू थाँती राख्न बाध्य छन् । निजामति सेवा दिवसको अवसर पारेर काठमाडौँमा न्युज एजेन्सी नेपालले सेवा लिन पुगेका केही सर्वसाधारणलाई निजामति कर्मचारीहरूबाट पाइरहेको सुविधाबारे जिज्ञासा राखेको छ ।
न्युज एजेन्सी नेपालको जिज्ञासामा आम सर्वसाधारणहरुले नेपालको निजामती सेवामा राजनैतिक हस्तक्षेप बढी रहेको र त्यसको प्रभावका कारण समयमै काम सम्पन्न नहुने, कर्मचारीहरुले लापरवाही गर्ने गरेको गुनासो गरे । कर्मचारीमा जवाफदेहीताको कमी र गैरजिम्मेवारीपन बढी भएको सेवाग्राहीको गुनासो छ ।
देशलाई शुसासनतर्फ लैजान सबैभन्दा महत्वपूर्ण भुमिका देशका कर्मचारीहरूको हुने भएकाले कर्मचारीहरू सुध्रिनपर्ने आम जनताको सुझाव । केही प्रतिशत राम्रा कर्मचारीहरू भएपनि धेरै कर्मचारी नेताको चाकडि गर्ने र पैसाका लागि मरिमेट्ने गरेको गुनासो नागरिकहरू गर्दछन् ।
निजामती सेवामा उपसचिव भन्दा माथिको ओहोदाका कर्मचारी आफूलाई कर्मचारी नै होइन जस्तो ठानेर रोषपूर्ण व्यवहार गर्ने गरेको गुनासो गर्छन् । उनीहरूको नेतासँग बढी भेट हुने भएकाले कर्मचारी भन्दा राजनीतिकर्मी जस्तो लाग्ने जनताहरूको बुझाई छ । कार्मचारीतन्त्रलाई जनतामुखी बनाउँदै राजनैतिक हस्तक्षेप मुक्त गर्नुपर्ने उनीहरूको माग छ । हाकिम नभइ सेवकको रूपमा जनतासमक्ष कर्मचारीहरु उभिनुपर्ने माग सर्वसाधारणले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्