जेन जेड आन्दोलनलाई बालेन शाहको नैतिक समर्थन, दुर्गा प्रसाईंको प्रत्यक्ष सहभागिता


काठमाडौँ । भ्रष्टाचार विरोधी अभियानका रूपमा अगाडि आएको ‘जेन जेड आन्दोलन’ मा काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नैतिक समर्थन जनाएका छन् भने समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईं प्रत्यक्ष रूपमा सहभागी भएका छन्। हाल देशभर फैलिँदै गएको यो आन्दोलन विशेषतः २८ वर्षमुनिका युवापुस्ताले अघि सारेको भन्दै स्वतन्त्र र शान्तिपूर्ण नागरिक आन्दोलनको रूपमा अघि बढिरहेको छ।

मेयर बालेनले आइतबार सामाजिक सञ्जालमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। उनले लेखेका छन्, “भोलिको याली स्वतन्त्रताहरूमा जेन जेड को हो। उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बूढो देखिन्छु। उहाँहरूको इच्छाशक्ति, उद्देश्य, सोच बुझ्न मन छ।”

उनले कुनै पनि राजनीतिक दल, अभियन्ता वा नेताहरूले आन्दोलनलाई आफ्नो स्वार्थ पूर्तिको माध्यम नबनाउन आग्रह गरेका छन्। उमेरले आफू त्यस आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नसक्ने भए पनि उसको भावना, सोच र उद्देश्यप्रति आफू पूर्ण रूपमा समर्थनमा रहेको उनले स्पष्ट पारेका छन्।

यता, समाजमा लामो समयदेखि सशक्त रूपमा सरकार र भ्रष्टाचारविरोधी मुद्दा उठाउँदै आएका दुर्गा प्रसाईंले भने आन्दोलनका अगुवा युवा प्रतिनिधिहरूलाई आफ्नै निवासमा स्वागत गर्दै प्रत्यक्ष संवाद गरेका छन्।

प्रसाईंले युवाहरूको साहस र नेतृत्वप्रति प्रशंसा गर्दै भ्रष्टाचारविरुद्धको लडाइँमा सबै नागरिक एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “भ्रष्टाचारले सबै नेपालीलाई गाँजेको छ। त्यसैले भ्रष्टाचार देख्नासाथ उठेर फाल्न, अन्यायविरुद्ध लड्न र आवाज उठाउन प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो।”

यसैबिच, जेन जेड आन्दोलनका आयोजक समूहले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण, कानुनी र अनुशासित हुने स्पष्ट पारेका छन्।

“हामीको मुख्य उद्देश्य भनेको भ्रष्टाचार अन्त्य गर्ने, शासन प्रणाली पारदर्शी बनाउने र राजनीतिक हस्तक्षेपविना युवाहरूको स्वतन्त्र आवाजलाई स्थापित गर्ने हो,”विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले यो आन्दोलन कुनै दल, गुट, वा नेताको निर्देशनमा होइन, स्वतन्त्र रूपमा नागरिक सचेतनाको रूपमा अघि बढिरहेको बताएका छन्।

हालसम्म विभिन्न सामाजिक सञ्जालमार्फत आन्दोलनको सन्देश व्यापक फैलिएको छ भने देशका अन्य सहरहरूमा पनि युवा पुस्ताले यसप्रति चासो देखाइरहेका छन्। चर्चित व्यक्तित्वहरूको समर्थनपछि यो आन्दोलनले थप जनसरोकार र विश्वसनीयता हासिल गरेको छ।