इच्छाशक्ति हुँदा समयमै निर्माण हुन्छ भन्नेकुरा टियु क्रिकेट स्टेडियमले देखाएको छः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले इच्छाशक्ति हुँदा पूर्वाधार निर्माण समयमा नै बनाउन सकिन्छ उदाहरण निर्माणाधीन टियु क्रिकेट स्टेडियमले देखाएको बताएका छन् ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा निर्माणाधीन टियु क्रिकेट स्टेडियमको अनुगमनमा आईतवार शहरी विकासमन्त्री सिंह पुगेका थिए।

सो अवसरमा मन्त्री सिंहले इच्छाशक्ति हुँदा समयमा नै सुविधासम्पन्न स्टेडियम बन्न सकिने रहेछ भन्ने निर्माणाधीन टियु क्रिकेट स्टेडियमले देखाएका बताए । उनले टियु क्रिकेट स्टेडियम समयसीमाभित्र सम्पन्न नभए पनि काम सहज रूपमा अगाडि बढिरहेको बताए ।

उनले लक्ष्यअनुरूप पूरा नभए पनि इच्छाशक्ति हुँदा छिटै पूर्वाधार निर्माण गर्न सकिने औंल्याए । टियु स्टेडियम निर्माणका लागि आवश्यक सामाग्री सबै विदेशबाट ल्याउनुपर्ने हुँदा ग्लोबल टेन्डर प्रक्रियाले काममा ढिलाइ भएको उनले उल्लेख गरे। 

सधैं विदेशमा गएर मात्र खेल्नेभन्दा पनि विदेशी टोलीलाई पनि नेपालमा ल्याउने उद्देश्यअनुरूप यो स्टेडियम बनाइएको उल्लेख गरे। त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सुविधासम्पन्न क्रिकेट स्टेडियम बन्ने मन्त्री सिंहको विश्वास छ ।

फ्लड लाइटमा प्रयोग हुने लाइट इटालीबाट झिकाइएको मन्त्री सिंहले बताए । उनले निर्माण सम्पन्न भएपछि सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्ड भएको क्रिकेट स्टेडियममा बन्ने बताए । नेपालमा क्रिकेटप्रति बढ्दो क्रेजका कारण सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माण गरिएको मन्त्री सिंहको भनाइ छ ।

उनकाअनुसार पहिलो चरणमा १० हजार क्षमताको छ स्टेडियम बन्नेछ । अर्को आर्थिक वर्षमा १५ हजार सिट थप्ने सिंहले उल्लेख गरे ।

उनले दोस्रो चरणमा कुल २५ हजार समर्थक अट्ने स्टेडियममा, कमेन्टेटर बक्स, चेन्जिङ रुम र प्रेस बक्सलगायत आवश्यक पक्ष निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बन्ने विश्वास व्यक्त गरे । मन्त्री सिंहले सम्झौताअनुरूप समयमा नै निर्माण नसक्दा जरिवानामा लगाइए पनि सहज रूपमा निर्माण प्रक्रिया जारी रहेको बताए ।

उनले लक्ष्यअनुरूप निर्माण सम्पन्न नभए पनि धेरै ढिला गरी काम नभएको उल्लेख गरे । निर्माण सम्पन्न भएपछि सम्झौतामा भएअनुसार गुणस्तर मापन गरेर मात्र लिने उनको भनाइ छ । उनले त्रिभूवन विश्वविद्यालय (टियु) मा अध्ययनरत विद्यार्थीहरूलाई डिस्टर्ब नहुने गरी रंगशाला निर्माण हुने बताए । टियुका भिसी र सरकारबीच छलफलपछि यो स्टेडियम निर्माण प्रक्रिया अगाडि बढाइएको उनी बताउँछन् ।