काठमाडौँ । गायक प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत युवा पुस्तालाई आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले आफ्ना दुई भाइलाई सम्बोधन गर्दै लेखेको फेसबुक स्टाटसमा भोलि हुने आन्दोलनमा अनिवार्य उपस्थित रहन आग्रह गरेका छन् ।
सपूतले २५ वर्षीय सुनिल र २६ वर्षीय सचिनलाई उद्दृत गर्दै भनेका छन्, “तिमीहरू केही बोल्नै पर्दैन । तिमीहरूको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै कुरा बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो।”
उनले यसपटकको आन्दोलनलाई पुस्तान्तरको आन्दोलनको रूपमा अर्थ्याउँदै आफू निकै उत्साहित भएको बताएका छन् । अघिल्ला आन्दोलन र युद्धहरूमा पनि आफुहरू संलग्न भएपनि त्यसको परिणाम अपेक्षाकृत नभएको उनको भनाइ छ । “हाम्रो पुस्ताले जीवनमा थुप्रै आन्दोलन गर्यो, युद्ध नै भोग्यो । तर, नेतृत्व गर्नेहरूले योगदानभन्दा बढी फाइदा लिए,” उनले भनेका छन् ।
सपूतले आफ्ना भाइहरूको खातामा युट्युब आम्दानीबाट आएको कर कटाइपछिको रकम २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै त्यस रकम प्रयोग गरेर आन्दोलनमा सहभागी युवाहरूलाई पानी बाँड्न पनि आग्रह गरेका छन् ।
“हाईड्रेड रहनु, संयमित रहनु, एकैपटकमा नथाक्नु,” भन्दै उनले दीर्घकालीन संघर्षको तयारीमा रहनुपर्ने सन्देश दिएका छन् ।
उनका अनुसार नेतृत्वमा पुगेपछि आन्दोलनलाई दबाउने प्रवृत्ति भएकाले निरन्तर र शान्तिपूर्ण ढंगले उभिनुपर्ने आवश्यकता छ । उनले अहिलेको सांकेतिक प्रदर्शनले सत्तापक्षलाई समय अघि नै पुगिसकेको र नयाँ पुस्ता तयार भइसकेको गहिरो अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन् ।
सपूतले आन्दोलनमा जाने युवाहरूलाई सुरक्षित फर्कन आग्रह गर्दै परिवारले घरमै प्रतीक्षा गर्ने भएकाले सजग रहन समेत स्मरण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्