नख्खु कारागारबाट युवापुस्तालाई लामिछानेको सन्देश : इतिहास लेख्ने शक्ति तपाईंहरूकै हातमा छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट युवापुस्तालाई सडक आन्दोलनमा सचेत र संयमित भएर सहभागी हुन आग्रह गरेका छन्।

निजी सचिवालयमार्फत जारी गरिएको सन्देशमा उनले विशेषगरी जेन जी पुस्तालाई सम्बोधन गर्दै भोलिदेखि सुरु हुन लागेको आन्दोलनलाई इतिहास बदल्ने अवसरको रूपमा व्याख्या गरेका छन्।

“शासकहरूले तपाईंहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसेका छन्,”लामिछानेले भनेका छन्।

सत्ताको घमण्ड र प्रतिशोधको नशामा रहेको नेतृत्वले जनताको आवाज दबाउन खोजेको आरोप लगाउँदै उनले युवा पुस्ताको विवेक र आवेगमा मुलुकको भविष्य निर्धारण गर्ने शक्ति रहेको विश्वास व्यक्त गरे।

उनले भोलिको दिनलाई ‘इतिहासको नयाँ सुरुवात’ को दिन भन्दै आन्दोलनमा सहभागी युवालाई सम्भावित घुसपैठ र उत्तेजनाप्रति सचेत रहन आग्रह गरेका छन्। लामिछानेले संयमित भएर विवेकपूर्वक सहभागी हुनुपर्ने आवश्यकता जोड दिए।

“तपाईंहरूको आफ्नै इतिहास मात्र होइन, यस देशको इतिहास पनि तपाईंहरूको हातबाट लेखिँदैछ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

नख्खु जेलको कालकोठरीबाट पठाइएको उक्त सन्देशमा उनले आन्दोलनप्रति शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्।