काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागेको बताएका छन् ।
फुकोट कर्णाली जलविद्युत आयोजनाको कामलाई चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालिकोटको सर्वदलीय बैठकमा उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउन खोजेको बताएका हुन् ।
उनले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपिसि लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत उत्पादन कम्पनीलाई निर्देशन समेत दिए ।
“देशभरका आयोजनालाई सरकार एक्लैले लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ, भियुसिएलले भारतको भरपर्दो कम्पनी एनएचपिसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अगाडि बढाउन खोजेको छ, टाइमलाइनअनुसार काम गर्न आउनका लागि उक्त कम्पनीलाई परिपत्र गर्नुस्,”उनले भने ।
मन्त्री खड्काले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे। उर्जामन्त्री खड्काले गरीब र विपन्न नागरिकलाई विनाधितो सरकारले ऋणको व्यवस्था गरेर जलविद्युतको शेयर खरीद गर्ने वातावरण निर्माण गरेको उल्लेख गरे ।
नेकपा (माओवादी केन्द्र)का नेता एवम् कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्झौता भइसकेको आयोजनालाई चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताए ।
कांग्रेस कालिकोटका सचिव नगेन्द्रबहादुर विष्टले कर्णाली प्रदेशको समृद्धिका लागि उक्त आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले कालिकोट र सिंगो कर्णालीको विकासका लागि उक्त आयोजनालाई चाँडो बनाउनुपर्ने बताए । ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडकोसमेत लगानीमा निर्माण हुनेगरी सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्