काठमाडाैँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ ।
नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रर्दशनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी लगायत जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएसँगै बाहिरिएका थिए । त्यसअघि बैठकमा केही सांसदहरूले विधेयकमाथि आफ्नो संशोधन प्रस्ताव राखे । विधेयकमाथिको छलफलमा सहभागि हुँदै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले विधेयकमा शान्ति सुरक्षा र प्रशासनिक निर्देशनको संरचना स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको धारणा राखे।
उनले नेपाल प्रहरीले गर्ने गतिविधि नेपाल सरकारको निर्देशन र सुपरीवेक्षणमा तथा जिल्लास्तरमा शान्ति सुरक्षा र सुव्यवस्थासम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आवश्यक निर्देशन दिनसक्ने व्यवस्था प्रस्ताव गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राष्ट्र र जनतालाई सुरक्षा ग्यारेन्टी दिने प्रहरी संगठनमाथि राजनीतिक हस्तक्षेप बढिरहेको भन्दै त्यस्तो हुन नदिनेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे। उनले अपराध अनुसन्धान जस्ता विशिष्टकृत कामहरूमा प्रहरी संगठनलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने व्यवस्था गर्दा प्रहरीको व्यवसायिक स्वायत्ततालाई बढावा दिने धारणा राखे ।
लगत्तै अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले बैठक स्थगित भएको घोषणा गर्नुभयो । विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन परेको छ ।
प्रतिक्रिया दिनुहोस्