काठमाडौँ । सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनमा पाँचजनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा चार जनाकाे मृत्यु भएकाे छ ।
मृतक सबैजना रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दिउँसो १२ बजेर ३० मिनेटपछि प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन बल प्रयोग गरेसँगै स्थिति झन् तनावग्रस्त बन्दै गएको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दिनभरि ठाडो झडप भएको छ ।
सुरक्षा निकायले दिउँसोदेखि नै नयाँ बानेश्वरसहित काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको भए पनि आन्दोलन रोकिएको छैन ।
हाल पनि नयाँ बानेश्वर क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित छन् । अश्रुग्यास, लाठीचार्ज र रबरको गोली प्रयोग भए पनि भिड तितरबितर हुन सकेको छैन ।
घाइतेको संख्या यकिन भइसकेको छैन भने अस्पतालहरूमा थप घाइते उपचारका लागि भर्ना भइरहेका छन् । स्थिति नियन्त्रण गर्न सेना समेत परिचालन गरिएको छ । सुरक्षा निकायले अवस्था सामान्य बनाउन आग्रह गरे पनि आन्दोलन अझै जारी छ र राजधानी निरन्तर तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्