काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध देशभर जेन जी पुस्ता सडकमा उत्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ६ बजेपछि बैठक बस्ने गरी तयारी भएको छ । बैठकमा जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिबारे विस्तृत छलफल हुने र आगामी कदमबारे निर्णय लिइने जनाइएको छ ।
सरकारको निर्णयविरुद्ध चर्को विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि दबाब बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन् ।
आज काठमाडौंसहित देशका विभिन्न शहरमा भएको जेनजी आन्दोलनलाई प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेपछि स्थिति झन् तनावपूर्ण बनेको छ । आन्दोलनकै क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
सरकार र आन्दोलनकारीबीचको टकराव बढ्दै गएपछि राजनीतिक समाधान खोज्ने प्रयासस्वरूप मन्त्रिपरिषद् बैठक महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्