इटहरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी


काठमाडाैँ । सुनसरीकाे इटहरी उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम दिउँसो ३ः३० बजेदेखि अर्को सूचना नभएसम्म लागू हुनेगरी कर्फ्यू जारी गरिएको जानकारी दिएका हुन्।

कर्फ्यू आदेशअनुसार तोकिएको चारकिल्लाभित्र कुनै पनि व्यक्ति स्वतन्त्र रूपमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको छ।

प्रशासनले तोकेको कर्फ्यू क्षेत्र उत्तरतर्फ हलगडा नेपाली सेनाको व्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास क्षेत्रसम्म, दक्षिणतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पत्ताल चोक हुँदै यस पार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलंकी मोडदेखि जनता बस्तीभित्र रहनेछ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू आदेशको पालना गर्न सबैमा आग्रह गरेको छ।