काठमाडाैँ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू गरिएको यस आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा, बैठक वा घेराउ गर्न पूर्णरूपमा रोक लगाइएको छ।
बुटवल क्षेत्रमा पेट्रोल पम्पदेखि धागो कारखाना पुलसम्म पूर्व, बेलवास चोकसम्म पश्चिम, चिडिया खोलासम्म उत्तर र मंगलापुरसम्म दक्षिणसम्म कर्फ्यू लागू गरिएको छ।
भैरहवा क्षेत्रमा भने रोहिणी खोला पुलदेखि बेथरी पुलसम्म पश्चिम, बुद्धचोकसम्म उत्तर र मेउडीहवासम्म दक्षिणसम्म कर्फ्यू लागू गरिएको छ। साथै बुटवल–बेलहिया सडक खण्डको दयाँबाँया १०० मिटर क्षेत्रमा समेत कर्फ्यू कायम गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति कायम राख्न र तोकिएका क्षेत्रहरूमा कर्फ्यू पालन गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्