काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई सरकारले नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको सर्कुलरमार्फत मातहतका सबै संघीय अस्पतालहरूमा आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी तत्काल उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने घाइतेको जीवन बचाउन आवश्यक उपचार तुरुन्त उपलब्ध गराउन अस्पतालहरूलाई आह्वान गरेको छ ।
यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक पर्ने स्थानहरूमा सहज रूपमा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकामा एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लैजान सजिलो बनाउने व्यवस्था पनि मन्त्रालयले सुचारु गर्न भनिएको छ । साथै, मन्त्रालयले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्