काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनमा भएको सरकारी दमनप्रति आपत्ति जनाएको छ । पार्टीले निर्दोष युवामाथि भएको आक्रमणलाई ‘आमहत्यासरहको बर्बरतापूर्ण दमन’ भन्दै सरकारले आफ्नो नैतिकता गुमाइसकेको टिप्पणी गरेको छ ।
रास्वपाका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने र शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक ढंगले दबाउन खोजेको भन्दै गम्भीर आपत्ति प्रकट गरिएको छ ।
“निहत्था नवयुवाहरूले गरेको लोकतान्त्रिक आन्दोलनको पहिलो चरणमै सरकारकै आदेशमा भएका आक्रमण र हत्या असह्य अपराध हुन् । आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुनै पनि प्रयास अब जनताले सहने छैनन्,”विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले घटनाको निस्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न र गृहमन्त्रीसहित सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।
पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै वर्तमान सरकारलाई असफल र औचित्यहीन भएको ठहर गरेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्चस्वमा रहेको संसदले राष्ट्रिय समस्याको समाधान दिन असमर्थ रहेको भन्दै रास्वपाले ताजा जनादेश ‘अर्ली इलेक्सन’को माग अघि सारेको छ ।
रास्वपाले सरकारी दमनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आगामी आन्दोलनका लागि पार्टी सचिवालय बैठक बसिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्