आन्दोलनमा ज्यान गुमाउने विद्यार्थीप्रति शिक्षा संस्थाहरूको शोक, दुई दिन शोक बिदा गर्ने


काठमाडौँ । देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति शिक्षा क्षेत्रका प्रमुख संस्थाहरूले शोक व्यक्त गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले आन्दोलनका क्रममा भएको घटनालाई दुःखद र पीडादायी भन्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ ।

देशका होनहार युवाहरूले ज्यान गुमाउनु परेको यस मार्मिक घडीमा २०८२ भाद्र २४ र २५ गते शोक विदा दिने निर्णय गरिएको छ,”विज्ञप्तिमा भनिएको छ ।

शिक्षा संस्थाहरूले संयमता र धैर्यका साथ परिस्थितिलाई सामना गर्नुपर्नेमा जोड दिँदै सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक र नागरिक समाजलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा एनएमए अध्यक्ष पवित्रा लिम्बु, अपेन अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेसनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।