ललितपुरमा पनि प्रशासनले गर्‍यो निषधाज्ञा जारी


काठमाडौँ । ललितपुर जिल्लामा विभिन्न समूह र पक्षका प्रतिनिधिहरूले उपत्यका क्षेत्रमा प्रदर्शन गर्ने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आज साँझ ६ बजेदेखि अर्को सूचना नआउन्जेलसम्म सार्वजनिक सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेहरूका विरुद्ध प्रचलित कानुनअनुसार कारवाही गरिने जनाइएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिसपछि लागू गरिएको निषेधाज्ञा अन्तर्गत पुल्चोकस्थित यु एन हाउस र न्यायाधीश निवास क्षेत्र, भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र, र सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ।

जिल्ला प्रशासनले सर्वसाधारणलाई उक्त क्षेत्रभित्र कुनै पनि किसिमको सभा, जुलुस वा भेला नगर्न सचेत गराएको छ।