प्रधानमन्त्री ओलीले भनेः जेन–जी पुस्तासँग सरकार संवेदनशील छ, तर प्रदर्शनमा घुसपैठले ज्यान जाने घटना भयो


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सोमबार एक वक्तव्य जारी गर्दै ओलीले सरकार जेन–जी पुस्ताको माग प्रति नकारात्मक नभएकाे र ती माग सुन्दै आएको बताएका छन् ।

प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट घुसपैठ भएको र त्यसले संवैधानिक संस्थाहरूको कार्यालयमा तोडफोड र आगजनी गराएको उनले बताए। सरकारी प्रयासका बावजुद उत्पन्न अप्रिय परिस्थितिमा नागरिकको ज्यान गुम्नु दुखद् घटना भएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालसँग सम्बन्धित कदम सरकारले आफ्नो नीति अनुसार बन्द गर्ने उद्देश्यले नभई, सर्वोच्च अदालतको निर्देशन पालना गर्ने प्रयास अन्तर्गत भएको बताए। उनका अनुसार केही सामाजिक सञ्जाल कम्पनीले नेपालमा दर्ता र सूचिकरण गर्न ढिलाइ गरेपछि सरकारी आदेश बमोजिम ती प्लेटफर्महरू अस्थायी रूपमा निस्क्रिय गरिएको थियो।

उनले बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको नयाँ पुस्तामा यस घटनाले असर पुर्‍याएको स्वीकार गर्दै, सरकार सामाजिक सञ्जालको प्रयोग रोक्ने पक्षमा नभएको र यसको प्रयोगको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै, मृतकको परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिए। साथै, घटना, क्षति र कारणको अध्ययन गरी आगामी दिनमा यस्ता दुर्घटनाहरू नदोहरियोस् भन्ने उद्देश्यले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरिने उनले बताए ।