काठमाडौँ घटनाप्रति सात देशका दूतावासहरूको चिन्ता, संयम र शान्तिपूर्ण समाधान खाेज्न आग्रह


काठमाडाैँ । काठमाडौँमा सोमबार भएका हिंसात्मक घटनाप्रति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले दुःख व्यक्त गरेका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दूतावासहरूले ज्यान गुमाउने दुःखद अवस्था सिर्जना हुनु र कैयौं व्यक्तिहरू घाइते हुनुप्रति संवेदना व्यक्त गरेका हुन्।

विज्ञप्तिमा पीडित परिवारजन र प्रभावितप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रता सर्वमान्य अधिकार भएको भन्दै दूतावासहरूले त्यसप्रति दृढ समर्थन दोहोर्याएका छन्।

दूतावासहरूले सबै पक्षलाई संयमता अपनाउन, परिस्थिति थप बिग्रिन नदिन, शान्तिपूर्ण तरिकाले समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन्।