गगन-विश्वप्रकाशले भने: ७ बुँदे समझदारीको औचित्य सकियो,मन्त्रीहरू फिर्ता आउनू


काठमाडाैँ । नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै ७ बुँदे समझदारीको औचित्य सकिएको घोषणा गरेको छ। पार्टीले तत्काल सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन सभापति देउवालाई आग्रह गरेको छ।

“सरकार सहि ढंगले चलेन, सुधार आवश्यक छ भनेर पटकपटक आग्रह गरियो। तर न सरकार सुधारियो न प्रधानमन्त्रीको शैली परिवर्तन भयो। नागरिकहरूको असन्तुष्टि बढ्दै गएको छ। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेका जेनजी पुस्तामाथि गरिएको दमन निन्दनीय छ। यी युवा कुनै कुर्सीका लागि होइन, आफ्ना न्यायोचित माग पूरा गर्न सडकमा उत्रिएका थिए,”पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ७ बुँदे समझदारीको औचित्य समाप्त भएको र सभापति देउवाले तत्काल कदम चाल्न असफल भए अन्य प्रक्रिया अपनाउने बाध्यता हुने बताइएकाे छ । प्रधानमन्त्रीले पदत्याग गरी नविन राष्ट्रिय सहमति निर्माणका लागि ढोका खोल्न आग्रह गरिएकाे छ ।

पार्टीले जेनजी पुस्तालाई पनि अपील गर्दै आन्दोलन संयम र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न आग्रह गरेको छ। साथै, सबै राजनीतिक दललाई खुला संवाद र संयमता मार्फत समस्याको समाधान गर्न एकजुट हुन अपील गरिएको छ।