काठमाडाैँ । भ्रष्टाचार, कानूनी शासनको अवहेलना र सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता रोकिएको विरोधमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्।
रास्वापाले वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भइसकेको उल्लेख गर्दै तत्काल कदम चाल्नुपर्ने माग राखेको छ। पार्टीले प्रधानमन्त्री, सञ्चारमन्त्री र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने जोड दिएको छ।
साथै, घटनाको निष्पक्ष छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, संविधान संशोधनको प्रक्रिया आरम्भ र ठूला भ्रष्टाचारका काण्ड छान्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने माग गरेको छ।
रास्वापाले प्रदर्शनमा मरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको पक्षमा रहेको पनि जनाएको छ। पार्टीका सांसदहरूले आगामी निकासका लागि अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै सरकारविरुद्ध निरन्तर आन्दोलनमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसदहरूको सामूहिक राजीनामा घोषणामा रास्वापाका संसदीय दलका नेता रवि लामिछाने, डोल प्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, कोषाध्यक्ष मनिष झा र अन्य सदस्यहरू एकमत रहेका छन्।
प्रतिक्रिया दिनुहोस्