जेनजी आन्दोलनले बढारिएका ओली,अटेरी गर्दा सर्वदलीय छलफल समेत गर्न नपाई राजीनामा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली इख राख्छन् र उनको प्रस्तुति दम्भले भरिएको हुन्छ ।

जेनजीले आन्दोलन घोषणा गरे पनि ओलीले खासै ध्यान दिएका थिएनन् ।

भर्खरै सम्पन्न विधान महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षको बाटो खुल्ला गरेका ओलीले जेनजी आन्दोलनलाई सम्भवतः माइतिघर मण्डलामा प्लेकार्डवाला आन्दोलन सम्झेका थिए ।

उनी नेतृत्वको सरकार कति बिन्दास थियो भने आन्दोलनकारीले संघीय संसदको पर्खाल भत्काउँदा समेत गृहमन्त्री रमेश लेखक संसदीय समितिमा थिए ।

आन्दोलन चर्किदै गएपछि प्रहरीको सूचनालाई समेत प्रधानमन्त्री ओलीले वास्ता गरेका थिएनन् । जब सेनाको रिपोर्टिङ् पुग्यो तब ओली झसङ्ग भए । ४ बज्दा नबच्दै १५ जनाभन्दा धेरैको ज्यान गइसकेको थियो ।

ओलीले कतिसम्म अटेरी गरेका थिए भने आकस्मिक मन्त्रिपरिषद् बैठक पनि बेलुकी ६ बजेमात्रै बोलाएका थिए ।

उनले योबिचमा सर्वदलीय बैठक समेत आज बेलुकी ६ बजेमात्रै बोलाएका थिए । आन्दोलनकारीले १२ बज्दानबज्दै राष्ट्रपतिको निजी निवास, प्रधानमन्त्री ओली स्वयंकै निवाससमेत विध्वसं पारिसकेका थिए ।

मुख्य तीन दलका पार्टी कार्यालयमात्रै होइन सरकारको सचिवालय सिंहदरबार र संसद भवनसमेत प्रर्दशनकारीको कब्जामा गइसकेको थियो । मन्त्रिक्वाटरमा समेत प्रर्दशनकारी छिरेपछि हेलिकम्टरबाट मन्त्रीहरुको उद्धार गरियो ।

सुरक्षा संयन्त्र पूर्ण रुपमा निष्क्रिय स्थितिमा देखियो भने आन्दोलन सम्हाल्न राजनीतिक नेतृत्वले केही मेसो पाएनन् ।

ओलीले आन्दोलनलाई सुरुमा यति नजरअन्दाज गरिदिएकी २०४६ साल र २०६२/२०६३ को आन्दोलनमा नभएका घटना २ दिनमा हुने पृष्ठभूमिलाई ख्याल गरेनन् । जतिबेला ख्याल गरे त्यतिबेला सबैतिर परस्थिति बाहिर पुगिसकेको थियो ।

अन्तत : यति लामो समयसम्म राजनीतिक अभ्यास गरेका ओलीले प्रधानमन्त्री हुँदा मुलुकमा आन्दोलनका विषयमा सामान्य छलफल र वार्ताको आव्हान समेत गर्ने अवसर नपाई राजीनामा दिनुपरेको छ ।

उनको नेतृत्वमा सरकार भएको बेला एकैदेखि १९ जना कलिला युवा मारिएका छन् र निकै ठुलो जनधनको क्षति भएको छ ।

राजनीतिक रुपमा पनि एकैपटक अहिलेसम्मको अराजकताको स्थिति बनेको छ । सम्भवत : यसले भोलीका दिनका नेकपा एमाले र ओलीलाई समेत ठुलो मूल्य चुकाउनुपर्ने छ ।