नेपाली सेनाको ‘सफ्ट मुभ’, अन्य सुरक्षाप्रमुखलाई राखेर संयुक्त विज्ञप्ति


काठमाडौँ । मुलुकको अवस्था विग्रदै गएपछि प्रधानसेनापति अशोकराज सिंग्देलले अन्य तीन सुरक्षा निकाय प्रमुख,गृहसचिव र मुख्यसचिवलाई एकै ठाउँमा राखेर राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् ।


मुख्य सचिव, गृह सचिवसहित सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरूसँगै प्रधानसेनापति सिग्देलले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।

उनीहरुले भनेका छन्,“सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।”

आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।

यसलाई सुरक्षा विज्ञहरुले ‘सफ्ट मुभ’को रुपमा व्याख्या गरेका छन् । राजनीतिक रिक्तता देखिएपछि प्रधानसेनापतिसमेतको हस्ताक्षर आउनु र राजनीतिक सन्देशसहितको आव्हान गर्नु सेनाको सफ्ट मुभको रुपमा लिन सकिने सुरक्षा विज्ञहरुको तर्क ।

सामान्यतया प्रधानसेनापति पछि नेपाल प्रहरी महानिरीक्षकको हस्ताक्षर हुन्छ । तर विज्ञप्तिमा भने सशस्त्र प्रहरी महानिरीक्षकलाई माथि राखिएको छ । सशस्त्र प्रहरी अर्धसैनिक बल हो ।

यसले पनि सेनाले केही भूमिका अगाडि बढाएको देखिएको विश्लेषण देखिएको छ ।