सार्वजनिक सम्पत्तिको रक्षा गर्न सेनाको अपिल


काठमाडौँ।देशभर चलिरहेको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाप्रति नेपाली सेनाले दुःख प्रकट गर्दै संयमता अपनाउन सम्पूर्ण नागरिकमा अपिल गरेको छ।

सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति, पीडित परिवारप्रति हार्दिक समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको जिउधनको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहँदै आएको छ। हालको परिस्थितिलाई समेत हामी गम्भीरतापूर्वक विश्लेषण गरिरहेका छौं।”

सेनाले हाल विकसित घटनाक्रमलाई ध्यानमा राख्दै जनताको जिउधन, देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको सुरक्षा सबैको साझा दायित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न आग्रह गरेको छ।

“विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन संयमित रहनु जरुरी छ,” सेनाले भनेको छ, “नेपाल र नेपालीको हित र सुरक्षामा नेपाली सेना सधैं समर्पित रहनेछ।”