राष्ट्रपतिद्वारा संवाद र संयमको अपिल, आन्दोलनकारीलाई वार्तामा आउन आग्रह


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न भएको वर्तमान राजनीतिक तथा सामाजिक संकटको शान्तिपूर्ण समाधानका लागि सबै पक्षसँग सहयोग गर्न अपिल गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेपछि जारी विज्ञप्तिमा राष्ट्रपतिले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानतर्फ अघि बढ्न सबै पक्ष तयार हुने विश्वास व्यक्त गरेका छन्।

उनले लोकतान्त्रिक अभ्यासमा नागरिकले उठाउने मागहरुलाई संवाद र वार्तामार्फत समाधान गर्न सकिने स्पष्ट उल्लेख गर्दै विशेषगरी आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताका प्रतिनिधिलाई समेत वार्तामा बस्न आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले संयमता अपनाउन, देशलाई थप अस्थिर हुन नदिन र सहमतिपूर्ण समाधान खोज्न आन्दोलनकारी नागरिक, राजनीतिक दल र सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका छन्।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उल्लेख गर्दै राष्ट्रपतिले मुलुकको हितलाई सर्वोपरि राखेर सबै पक्षले योगदान दिने अपेक्षा व्यक्त गरेका छन्।