आज र भोली सेयर कारोबार बन्द हुने


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले विषम परिस्थितिलाई मध्यनजर गर्दै दुई दिन सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

नेप्सेले नेपाल धितोपत्र बोर्डको अनुमतिमा बुधबार र बिहीबार दुई दिन सेयर कारोबार बन्द गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

विषम परिस्थितिमा कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगनको गर्न अनुरोध आएको हुँदा दुई दिनको लागी कारोबार बन्द रहने प्रवक्ता पराजुलीको भनाई छ ।

लगानीकर्ताहरु बाहिर निस्किने अवस्था छैन । ब्रोकरहरुको अवस्था पनि उस्तै छ । देश नै ठप्प भएको अवस्थामा सेयर बजार खोल्नु सान्दर्भिक नभएको ब्रोकरहरुले बताएका छन् । स्टक ब्रोकर एशोसिएसनले समेत अवस्था सामान्य नहुञ्जेलसम्मका लागि कार्यालय नखोल्ने निर्णय गरिसकेको छ ।

जेनजीको आन्दोलन पछि उत्पन्न असहज परिस्थितिका कारण मंगलबार पनि सेयर कारोबार बन्द गरिएको थियो ।