जेनजी विद्रोह : आगजनी र तोडफोडबाट जिडिपीको २ देखि ६ प्रतिशत नोक्सानकाे अनुमान


-सम्पादकीय नोट-
काठमाडौँ । नेपालमा सुरु भएको जेन-जी आन्दोलनले देशको राजनीतिक र आर्थिक संरचनामा गम्भीर प्रभाव पार्ने देखिएको छ । यो आन्दोलनको महत्त्वपूर्ण प्रभावका रुपमा शासकीय प्रारुपमै परिवर्तन हुने प्रारम्भिक घटनाक्रमहरूले देखाएका छन् ।

आन्दोलनको तत्काल कारण सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भए पनि यसको मूल जड व्यापक भ्रष्टाचार, सुशासनविहीनता, मनपरितन्त्र र वर्षौंदेखिको राजनीतिक अस्थिरतालाई मुख्य कारक मानिएको छ । 

 युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट राजनीतिक नेताका छोराछोरीहरूको विलासी जीवनशैली (‘नेपो-किड्स’ प्रवृत्ति) उजागर गरेपछि यो आक्रोश झन् तीव्र बनेको थियो ।

आन्दोलनका क्रममा १९ युवाहरूमाथि गोली प्रहार भइ हत्या भएको र ४३० भन्दा अधिक घाइते भएपछि बुधबार उग्र बनेको प्रदर्शनका क्रममा मुख्य प्रशासनिक संरचना सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतसहित देशभरिका करिब १२० प्रशासनिक भवन, प्रहरी पोस्टहरू, ३० भन्दा अधिक सुपर मार्केट, निजी व्यावसायिक संस्था, ४० भन्दा अधिक नेताहरूका निजी निवास र व्यक्तिगत आवासहरूमा आगजनी गरिएको छ ।

प्रारम्भिक अनुमानअनुसार २०० जति गाडी र मोटरसाइकलहरूमा पनि आगजनी गरिएको छ । मंगलबार दिनभरि नै देशका प्राय सबै सहरी पालिका र सदरमुकाम क्षेत्रहरूमा आगजनीका घटना भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पोस्ट गरेका फोटो र भिडियोहरूबाट देखिन्छ ।

यस्तै गरी पालिका/वडा कार्यालयहरू, प्रहरी प्रभावहरू, प्रादेशिक निकायहरू समेत आन्दोलनको लहरबाट अछुतो रहन सकेनन्। सरकारी निकायमा भएको क्षतिले न केवल तत्कालीन सेवाप्रवाह अवरुद्ध गर्‍यो, बरु नागरिक विश्वास र प्रशासनिक क्षमता नै कमजोर पारेको छ । आगजनी भएका सबै सरकारी कार्यालय न्यायालय र अन्य निकायका अधिकांश सरकारी दस्तावेजहरू ध्वस्त भएका छन् ।

हालसम्मको विवरणअनुसार काठमाडौं उपत्यकामा ६५ प्रतिशत र प्रदेश तथा अन्य सहरहरूमा ३५ प्रतिशत हाराहारी आगजनीका घटना भएका छन् ।

टक्सारले गरेको प्रारम्भिक आकलनअनुसार कुल गार्हस्थ उत्पादन जिडिपीको कम्तिमा २ देखि ६ प्रतिशतसम्म आर्थिक क्षति भएको छ । रकममा यो क्षति कम्तिमा १ खर्ब २५ अर्बदेखि अधिकतम ४ खर्ब रुपैयाँ बराबर हुन आउँछ । 

यसअनुमानका लागि अनुभवजन्य साक्ष्य विधिमा आधारित रही तीन वटा परिदृष्य राखेर गणना गरिएको छ । पहिलो मुख्य प्रशानिक भवन र अन्य व्यावसायिक भवनहरूको सत प्रतिशत क्षतिसहितको न्यून परिदृष्यमा क्षति आकलन १ खर्ब २५ अर्ब रुपैयाँदेखि १ खर्ब ३० अर्ब रुपैयाँको अनुपातमा राखी गणना गरिएको छ ।

मध्यम परिदृष्यमा  क्षति आकलन २ खर्ब ५० अर्ब रुपैयाँदेखि २ खर्ब ६०अर्ब रुपैयाँको अनुपातमा राखी गणना गरिएको छ भने अधिकतम परिदृष्यमा  क्षति आकलन ३ खर्ब ८० अर्ब रुपैयाँदेखि ४ खर्ब १०अर्ब रुपैयाँको अनुपातमा राखी गणना गरिएको छ । औसत परिदृष्यमा भने कुल क्षति अनुपात ३ खर्बदेखि ३ खर्ब २५ अर्ब रुपैयाँ मानिएको छ।

पछिल्ला दुई परिदृष्यमा भाटभटेनी, सीजी ग्रुपसहित व्यावसायिक प्रतिष्ठानहरूको इन्वेन्टरी/स्टक नोक्सान (भण्डारहरूमा रहेका  सामान, फर्निचर, सजावटी सामान, कार्यालय उपकरण, कम्प्युटर, अभिलेख/डाटा आगजनी वा लुटपाटद्वारा नष्ट)को पनि अनुमानित आकलन गरिएको छ ।

यस प्रारम्भिक आकलनलाई आधार मान्दा एक दिनको मात्र आगजनी, तोडफोडबाट कम्तिमा ९० करोड अमेरिकी डलरदेखि  २ अर्ब ७२ करोड अमेरिकी डलरसम्मको क्षति भएको देखिन्छ । यद्यपि यो प्रारम्भिक आकलनमात्र भएकाले अन्तिम क्षति अनुपात यसभन्दा धेरै ठुलो हुनसक्छ ।

यस्ता क्षति भएका भौतिक पूर्वाधारको पुनर्निर्माण लागत तीन गुणासम्म अधिक हुने विगतका अनुभवहरूले देखाएको हुँदा पुनर्निर्माणको लागतमात्र कम्तिमा ६ देखि १० खर्ब रुपैयाँसम्म हुनसक्छ । यसमा मनोवैज्ञानिक असरले लगानीकर्ता र पर्यटकहरूमा पर्ने असर अझ गहिरो हुनसक्छ ।

भौतिक पूर्वाधार नोक्सानीले सोझै जिडिपी गणनामा प्रत्यक्ष रुपमा १ देखि २ प्रतिशतले कमी ल्याउन सक्ने विगतको माओवादी सशस्त्र द्वन्द्व र त्यसपछिका बन्दहरू, भूकम्प, भारतीय नाकाबन्दी र कोभिड महामारीका अनुभवहरूले देखाएका छन् ।