नेपाल बचाउन ऐक्यबद्ध हुनुपर्ने एमाले सचिव भट्टराईको आह्वान


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अहिले इतिहासकै गम्भीर संकटमा रहेको भन्दै सबै दल, संगठन र नागरिकहरूलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको १० बुँदे सन्देशमा राजनीतिक अस्थिरता, सामाजिक तनाव र अव्यवस्थाबिच उत्तेजनामा लिएर निर्णय गर्नुभन्दा गहिरो विश्लेषण र आत्मालोचना आवश्यक रहेको उल्लेख गरेका छन् ।

भट्टराईले घटनाक्रमहरूको समीक्षा गर्दै गल्तीप्रति आत्मालोचित भई पार्टी संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीमा पारदर्शी र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्दै आम सदस्यहरूको सक्रिय सहभागिता बढाउनुपर्ने बताए ।

उनले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानूनको शासन ‘जवज’ को आत्मा भएकाले यसबाट विचलित हुन नहुने बताए ।

देशको पुनर्निर्माणका लागि हिमाल, पहाड, तराईका सबै जातजाति र भाषा–भाषीबीचको एकतालाई मजबुत बनाउनुपर्ने उनले उल्लेख गरे । आन्तरिक सहमति र संवैधानिक मूल्यअनुसार निकास दिनुपर्ने उनको भनाइ छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

भ्रष्टाचार र बेथिती अन्त्य गर्न ‘जेनजी समूह’ ले अघि सारेका मागलाई समर्थन गर्दै उनले कार्यान्वयनमा सहयोग गर्ने अठोट प्रकट गरेका छन् ।