आन्दोलनका घटनापछि कांग्रेसले भन्यो: संयम, संवाद र एकताबाट समाधान खोजौँ


काठमाडौँ । नेपाली कांग्रेसले हालको विषम परिस्थितिमा संयम, संवाद र एकताको मार्गबाट अघि बढ्न सबैलाई आह्वान गरेको छ।

पार्टीका महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन कुमार थापाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी युवाले सुरू गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा कांग्रेसले सोमबार र मंगलबार भएका घटनाले मुलुकलाई थप अस्थिरता र पीडामा धकेलेको बताउँदै शान्ति र पुनर्निर्माणको बाटोमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ।

राष्ट्रपतिले संवाद र समाधानका लागि थालेको पहललाई कांग्रेसले स्वागत गरेको छ र नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय समुदायलगायत सबैलाई यस प्रक्रियामा सहयोग गर्न अपिल गरेको छ।

कांग्रेसले जेनजी युवाको मागलाई वैधानिक बाटोबाट समाधान गर्नुपर्नेमा जोड दिँदै संविधानबाहिर गएर गरिने कुनै पनि कदमले अराजकता निम्त्याउने चेतावनी दिएको छ। वार्ताका क्रममा देशमा संवैधानिक रिक्तता नआओस् भनेर हरेक उपाय संविधानमै टेकेको हुनुपर्नेमा पार्टीले जोड दिएको छ।

विज्ञप्तिमा सोमबारको प्रदर्शनका क्रममा भएको अत्यधिक बल प्रयोग गम्भीर अपराध भएको भन्दै यसको उच्चस्तरीय छानबिन आयोगमार्फत दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जाल खोल्ने र पदत्याग गर्ने विषयमा ढिलाइ गर्दा स्थिति थप चर्किएको भन्दै कांग्रेसले त्यसप्रति असन्तुष्टि प्रकट गरेको छ।

सिंहदरबार, शीतल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतका संरचना र अन्य सार्वजनिक सम्पत्तिमाथि भएको आगजनीलाई कांग्रेसले जेनजी युवाको माग नभएको स्पष्ट गर्दै यसको घोर निन्दा गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेतामाथि भएको आक्रमणलाई पार्टीले निन्दा गरेको छ। साथै पछिल्ला वर्षमा सत्तामा बसेका दल र नेताले जनअपेक्षा अनुसार काम गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अबको परिस्थितिमा युवाको भावना अनुसार जिम्मेवार राजनीति गर्ने प्रतिवद्धता जनाएको छ।

विज्ञप्तिमा २०७२ सालको संविधानबाट प्राप्त उपलब्धि उल्टिन नदिने दृढता प्रकट गर्दै कांग्रेसले परिवर्तनले सधैं अग्रगमनको बाटो देखाउनुपर्ने विश्वास व्यक्त गरेको छ। पार्टीले आफ्ना सदस्य र शुभेच्छुकलाई संयमित, विवेकपूर्ण र एकताबद्ध रहन अपिल गरेको छ।