रास्वपाले नयाँ राजनीतिक कोर्षबारे धारणा चाँडै सार्वजनिक गर्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका कारण उत्पन्न भएको सरकारविहिन अवस्था, नेपाली सेनाको नेतृत्वमा भइरहेको सुरक्षा प्रबन्ध र नयाँ राजनीतिक कोर्षबारे औपचारिक–अनौपचारिक छलफलमा पार्टी गम्भीर विश्लेषणमा रहेको जनाएको छ । पार्टीले छिट्टै नयाँ राजनीतिक कोर्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधाबार एक विज्ञप्ति जारी गर्दै मुलुकलाई विधिको शासन, कानूनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतान्त्रिक मूल्य–मान्यताको आधारमा अघि बढाउनुपर्नेमा रास्वपा दृढ रहेको बताएका छन् ।

उनले परिवर्तनको संवेदनशील घडीमा सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । “जनतामाझ आशाको सञ्चार गर्न सकिएन भने नयाँ नेपाल निर्माण फेरि पनि आकांक्षामै सीमित हुनेछ,” विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले आन्दोलनका क्रममा उत्पन्न जटिल परिस्थितिलाई सामान्य बनाउने प्रयासमा सुरक्षा निकायलाई धैर्यपूर्वक साथ दिनुुपर्ने जनाएको छ । साथै, नागरिक सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण, कानूनी व्यवस्था पुनर्बहाली र सामाजिक सद्भाव वृद्धिमा आम जनताको सकारात्मक योगदान आवश्यक हुनेमा विश्वास व्यक्त गरेको छ ।

विज्ञप्तिमा रास्वपा शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा रहने र आन्दोलनमा युवा पुस्ताले व्यक्त गरेको चाहनालाई राजनीतिक रुपमा सम्बोधन गर्ने वातावरण बनाउन सचेत रहेको पनि उल्लेख गरिएको छ ।