काठमाडाैँ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणपछि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यूलाई क्रमिक रूपमा खुकुलो पार्दै निरन्तरता दिनुपर्ने देखिएको भन्दै नेपाली सेनाले नयाँ व्यवस्था सार्वजनिक गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार भदौ २६ गते (भाेलि) बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म निषेधाज्ञा लागू हुनेछ। त्यसपछि बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म कर्फ्यू जारी रहनेछ। यद्यपि भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि सर्वसाधारणलाई आवतजावत गर्ने अनुमति हुनेछ।
निषेधाज्ञा तथा कर्फ्यू अवधिमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आउजाउ गर्न सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म जाने अनुमति पाउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ।
उपत्यकाबाहिरको हकमा भने सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय हुने बताइएको छ। सेनाले सुरक्षाकर्मीहरूले नागरिकको जीवनरक्षा र मानवीय उद्धारलाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गरिरहेको उल्लेख गर्दै सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्