काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी भएको छ। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार उनले छात्रवृत्ति तथा विदेशमा काम गरेर जम्मा गरेको आम्दानीबाट पाँच आना जग्गामा घर निर्माण गरेका थिए।
गभर्नर पौडेलका अनुसार उक्त घरमा परिवारसँगै बस्दै आएका थिए। भित्र पुस्तक, पुराना ऐतिहासिक सामग्री, कलाकृति, मूर्तिकलाहरु र छोरीको मन पर्ने कोठा रहेको उनले उल्लेख गरेका छन्। “देविदेवताका मूर्तिदेखि भियतनामी सिल्क पेन्टिङ र माओत्सेतुङसम्मका मूर्तिहरू त्यहाँ थिए,” उनले भनेका छन्।
उनका अनुसार केही व्यक्तिहरू घरभित्र प्रवेश गरी परिवारका तस्बिर र छोरीको खेलौनासम्म कुल्चेर फुटाइदिए र त्यसपछि आगो लगाइदिए। “छोरीलाई राति नडराओस् भनेर सुत्न दिने मन्त्रेको खेलौना पनि कुल्चेर जलाइयो,” उनले पीडा व्यक्त गरेका छन्।
गभर्नर पौडेलले आफू, श्रीमती र छोरी नजिकैका छिमेकीको घरमा गएर रात बिताउनुपरेको बताएका छन्। तर, ढिलोसम्म घरमा रहेका किताब र कपडाका कारण आगो निभ्न सकेन। छिमेकीले आगलागीका बीचमा समेत ढुङ्गा प्रहार र सामान चोरी हुने गतिविधि भएको बताएका छन्।
उनले आफूले पीडामा परे पनि अझ बढी कष्टमा परेका अन्य व्यक्तिहरुको अवस्थाबारे पढ्दा आत्मबल बढाएको बताएका छन्। उनले घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसबारेमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्।
गभर्नर पौडेलले आफूले कुनै पदमा रहँदा अनियमिततामा संलग्न नभएको स्पष्ट पार्दै कसैसँग दुई रुपैयाँ खाएको वा मागेको प्रमाण भए खुलासा गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्