काठमाडौँ । नेपाली राजनीतिको संकटपूर्ण घडीमा अन्तरिम सरकार गठनबारे आज निर्णायक छलफल हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश अशोकराज सिग्देल र जेनजी युवाका प्रतिनिधिहरूबिच बिहानदेखि चल्ने छलफलले प्रधानमन्त्री पदको नामलाई औपचारिकता दिने तयारी भएको हो ।
जेनजी प्रतिनिधिहरूले नयाँ अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वसम्मत रूपमा अघि सारेका छन् ।
उनीहरूको प्रस्तावलाई आजको छलफलले मान्यता दिने अपेक्षा गरिएको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार यसबारे अन्तिम निर्णय यही बैठकमार्फत् टुंगो लाग्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि यो प्रक्रियाले गम्भीर मोड लिएको हो । त्यही आन्दोलनका युवाहरूको मागअनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेनजी युवाले अघि सारेको नामलाई अन्य लोकप्रिय नेतृत्वले पनि समर्थन गर्न थालेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमार्फत सुशीला कार्कीलाई समर्थन जनाएको छ भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि कार्कीको पक्षमा आफू रहेको बताएका छन् ।
यता व्यावसायिक एवं राजनीतिक रूपमा चर्चित दुर्गा प्रसाईंले देशले निकास पाउने गरी जोसुकैको नेतृत्वमा सरकार बने पनि आफू सहमत हुने प्रतिक्रिया दिएका छन् ।
जेनजी युवाहरूले भर्चुअल प्लेटफर्ममार्फत् गरेको मतदानमा पनि कार्कीको नामलाई उच्च समर्थन प्राप्त भएको थियो । त्यसलाई स्वीकार गर्दै कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको घोषणा गरिसकेकी छिन् । संकट मोचनको यो निर्णायक क्षणमा आज हुने छलफलले मुलुकलाई नयाँ बाटो देखाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्