रामेछाप कारागारबाट कैदी भाग्न खोज्दा सेनाले चलायो गोली, २ जनाको मृत्यु


काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीबन्दीलाई रोक्न गोली चलाउँदा २ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उनका अनुसार विहान ७ बजेतिर गोली चल्दा दुई पुरुष कैदीको गोली लागेर मृत्यु भएपनि उनिहरुको परिचय खुली सकेको छैन । साथै गोली लागेर १२ जना कैदीबन्दी घाइते पनि भएको उनले जानकारी दिए।

कैदीबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

अहिले कारागार सुरक्षाकर्मीले नियन्त्रणमा लिइकेको थापाले बताए । कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए।