काठमाडौँ ।प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले पछिल्ला दिनमा देशमा देखिएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण गर्दै संविधानविपरीत संसद् विघटन गर्ने कुनै पनि कदम अस्वीकार्य हुने चेतावनी दिएका छन्।
उनले जारी गरेको प्रेस वक्तव्यमा हालको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै असुरक्षा, आक्रमण, आगजनी र लुटपाटको मारमा परेकाप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।
थापाले देशमा सिर्जित राज्यविहीनता र सुरक्षा रिक्तताको अवस्था चिन्ताजनक भएको उल्लेख गर्दै धैर्य धारण गर्न आम नागरिकलाई आग्रह गरेका छन्।
उनका अनुसार संसद् विघटनको असंवैधानिक प्रयासमा देशी–विदेशी स्वार्थी समूहहरू सक्रिय रहेको प्रष्ट देखिएको छ। “संविधानसम्मत र सार्वभौम संसद्को छलफल र निर्णयभन्दा बाहिर गएर अघि बढ्न खोज्नु प्रतिगामी कदम हुनेछ,” उनले भने।
आवधिक निर्वाचनबाट स्थापित जनमतलाई अर्को निर्वाचनमार्फत मात्र परिवर्तन गर्न सकिने उल्लेख गर्दै उनले असंवैधानिक रूपमा संसद् विघटनको परिकल्पना संविधानले नगरेको प्रष्ट पारे।
थापाले आन्दोलनले उठाएका सुशासन र प्रतिनिधित्व प्रणालीको मागलाई संविधान संशोधनमार्फत समाधान गर्न सकिने बताए।
उनले संवैधानिक सीमाभित्र रहेर सहमतिका साथ अघि बढ्नु नै बुद्धिमत्तापूर्ण निर्णय हुने उल्लेख गरे।
उनले राष्ट्रपति रामचन्द्र पौडेल संविधानविपरीतका गतिविधिमा सहभागी नहुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिलाई अवाञ्छित दबाबबाट जोगाउन आग्रह गरेका छन्। त्यस्तै, सभामुखलाई जनमत र सार्वभौमसत्ताको प्रतिनिधिसभाको रक्षा गर्दै उचित भूमिका निर्वाह गर्न विशेष अनुरोध गरेका छन्।
थापा क्षेत्रीले नेपाली सेनाका परमसेनाधिपतिले सेनालाई शान्ति–सुरक्षा व्यवस्थापनमा मात्र सीमित राख्नुपर्नेमा जोड दिँदै लोकतन्त्रविपरीतका कार्यको समर्थन किमार्थ हुने नसक्ने बताए। “सरकार संसद्ले नै बनाउँछ, मूल बाटो छाडेर देशलाई अघि बढाउन सम्भव छैन,” उनले भने ।
लोकतन्त्रका हिमायती सबै राजनीतिक दललाई आ–आफ्नो धारणा स्पष्ट गरी संविधान र जनमतको रक्षा गर्ने मोर्चामा संयुक्त रूपमा जुट्न उनले आह्वान गरेका छन्।
साथै, उनले राष्ट्रपति पौडेललाई अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त बनाउन आग्रहसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्