राष्ट्रपति रामचन्द्र पौडेल अझै सार्वजनिक भएनन्


काठमाडौँ । सोमबार र मङ्गलबार भएको जेनजी बिद्रोहपछि राष्ट्रपति रामचन्द्र पौडेल अझै सार्वजनिक भएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । निवर्तमान प्रधानमन्त्रीसहित अन्य शीर्ष नेताहरुको अवस्था जानकारी भए पनि राष्ट्रपति पौडेल भने अझै सार्वजनिक भएको छैनन् ।

पौडेलको नाममा आन्दोलन पक्षलाई वार्तामा आउन आव्हान गर्दै एउटा विज्ञप्ति आए पनि उनको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।

भदौ २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका थिए ।

उनले भनेका थिए,“ प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपतिको विज्ञप्ति आएकै दिन बेलुकी प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सम्बोधन गर्दै आन्दोलनरत् पक्षलाई वार्ता आउन आव्हान गरेर राजनीतिक सक्रियता बढाएका थिए ।

प्रधानसेनापतिले नै राजनीतिक निकासका लागि छलफल सुरु गरेपछि राष्ट्रपतिको खोजी सुरु भएको छ । राष्ट्रपति पौडेल नै नेपाली सेनाको परमाधिपति हुन् । सेनाले भने राष्ट्रपतिको अवस्थाबारे केही नबोली आफै अन्तरिम सरकारका लागि छलफल सुरु गरेको छ ।

जेनजी बिद्रोहपछि राजनीतिमा हाबी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समेत अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेललाई आग्रह गरेका छन् । अन्य राजनीतिक दलले समेत राष्ट्रपति पौडेलको भूमिकाको खोजी गरिरहेका छन् ।