काठमाडौँ । आशङ्काकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै राजनीतिक निकासका लागि छलफल भइरहेको बताएका छन् ।
जेनजी विद्रोहपछि दोस्रो विज्ञप्ति जारी गरेका राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खाजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गरेका हुन् ।
आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्,“ देशको अहिलेको बिषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरतामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।”
राजनीतिक निकासमा नेपाली सेनाको प्रत्यक्ष भूमिका देखिन थालेपछि राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग भइरहेको छ । सोमबार र मङ्गलबार भएको जेनजी विद्रोहपछि राष्ट्रपति रामचन्द्र पौडेल अझै सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।
राष्ट्रपति पौडेलले भदौ २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका थिए ।
उनले भनेका थिए,“ प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
राष्ट्रपतिको विज्ञप्ति आएकै दिन बेलुकी प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सम्बोधन गर्दै आन्दोलनरत् पक्षलाई वार्ता आउन आव्हान गरेर राजनीतिक सक्रियता बढाएका थिए ।
सेनाले भने राष्ट्रपतिको अवस्थाबारे केही नबोली आफै अन्तरिम सरकारका लागि छलफल सुरु गरेको छ । राष्ट्रपति पौडेलको दोस्रो विज्ञप्ति आए पनि राजनीतिक छलफलमा उनको भूमिका अझै प्रष्ट देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्