काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले हालै जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलन हिंसात्मक रूप लिनुका कारण २० भन्दा बढी नागरिकले ज्यान गुमाउनुका साथै सयौं घाइते र खरबौं मूल्यबराबरका भौतिक संरचनामा आगजनी हुनुमा दुःख व्यक्त गरेको छ।
महासंघले आज जारी गरेको अपिलमार्फत यस्तो कठिन घडीमा सबै नागरिकलाई धैर्यता सहित सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ।
सत्ता परिवर्तनसँगै मुलुकमा बढ्दै गएको बेथिति, बेरोजगारी, सुशासनको अभाव र वातावरणीय प्रश्नलाई लिएर युवापुस्ताले उठाएका मागलाई सम्बोधन गर्दै गरिबी र श्रमजीवी किसानको जीवनमा रुपान्तरण ल्याउन सकिने विश्वास साना किसान वर्गले लिएको महासंघले स्पष्ट पारेको छ।
महासंघले करिब दुईतिहाई जनसंख्या रोजगारी र जीविकोपार्जनसँग जोडिएको कृषि पेशाको संवेदनशीलतालाई स्मरण गराउँदै खाद्य अधिकार र खाद्य सुरक्षाको सवाललाई विशेष प्राथमिकतामा लिनुपर्नेमा जोड दिएको छ।
किसानहरूले उत्पादन गर्ने खाद्यान्न, तरकारी, दूधलगायतका वस्तुको सहज बिक्री–वितरण सुनिश्चित गर्न स्थानीय समुदाय, संघसंस्था र सरोकारवालासँग समन्वय गर्दै बजार र आपूर्ति चेनलाई निरन्तर कार्यशील राख्नुपर्ने महासंघको भनाइ छ।
साथै, उपभोक्ताले स्वस्थ खाद्य वस्तुको उपभोग गर्न पाउने अधिकारलाई सुरक्षित राख्दै किसानको उत्पादनले बजार पाउने अवस्था कायम गर्न सम्बन्धित निकायलाई विशेष ध्यान दिन महासंघले आग्रह गरेको छ।
महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले सबै तहका संरचनालाई आवश्यक सहजीकरण गर्न पनि अनुरोध गर्दै राष्ट्रिय संकटको घडीमा कृषिक्षेत्रलाई अवरोधमुक्त राख्न सबै पक्षको सहकार्य अपरिहार्य हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्