बिमा प्राधिकरणद्वारा दाबी छिटाे फर्छ्यौट गर्न कम्पनीलाई निर्देशन


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूलाई भाद्र २३ गतेदेखि सुरू भएको असहज परिस्थितिबाट प्रभावित बिमितहरूको दाबी छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको अपूरणीय क्षतिको कारण बिमित सम्पत्तिमा व्यापक असर परेको भन्दै प्रभावित बिमितहरुले पाउने दाबीलाई सहज र शीघ्र रूपमा फर्छ्यौट गर्न बिमकहरूलाई अनुरोध गरिएको हो।

यससँगै बिमा कम्पनीहरूलाई साप्ताहिक आधारमा क्षतिको विवरण पेश गर्न भनिएको छ। बिमा प्राधिकरणले प्रत्येक बुधबार तोकिएको एक्सल वाेर्कसिटमा विवरण संकलन गरी तोकिएको गुगल फर्म मार्फत पेश गर्न समेत निर्देशन दिएको छ।

प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले हस्ताक्षर गरेको उक्त निर्देशनमा क्षतिपूर्तिको प्रक्रिया छिटो र व्यवस्थित ढंगले सम्पन्न गर्न सबै बिमकहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।