बार एसाेसिएसनको अपिल : संवैधानिक सर्वोच्चता बाहिरका समाधान अस्वीकार


काठमाडौँ । नेपाल बार एसाेसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति स्वीकार नगर्ने र त्यसविरुद्ध कडा विरोध गर्ने चेतावनी दिएको छ ।

बिहीबार बसेको भर्चुअल बैठकपछि अपिल जारी गर्दै बारले मुलुकमा उत्पन्न संकटको समाधान संविधानमै खोज्नुपर्नेमा जोड दिएको छ । ‘‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसाेसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ,’‘ विज्ञप्तिमा उल्लेख छ।

बारले जेन–जी आन्दोलनलगायत सम्पूर्ण जनसमुदायलाई सम्बोधन गर्दै संवैधानिक मान्यता भित्रै निकास खोज्न आग्रह गरेको छ। साथै संवैधानिक उपलब्धिहरूमा कुनै पनि बहानामा सम्झौता नगर्न चेतावनी दिंदै लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशितासहितको संघीयता जोगाउन सबै पक्षलाई सचेत गराएको छ ।

बारले राष्ट्रपतिको भूमिकालाई यस घडीमा अत्यन्तै महत्त्वपूर्ण ठहर गर्दै संविधानबमोजिम राष्ट्रको अभिभावकको रूपमा सक्रिय, अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा व्यक्त गरेको छ। साथै तत्काल नागरिक शासन कायम गर्नुपर्ने माग गरेको छ ।