पूर्वराष्ट्रपति भण्डारीद्वारा संवैधानिक व्यवस्थाअनुसार राजनीतिक निकास दिन आग्रह


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिएकी छिन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले हालैको ‘जेन–जी’ आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति तथा जननिर्वाचित संस्थाहरू कायमै रहेको अवस्थालाई स्मरण गराइन् ।

उनले आन्दोलनरत पक्षको माग र चाहनालाई समेत सम्बोधन गर्ने गरी संवैधानिक व्यवस्था अनुसार राजनीतिक निकास दिन आवश्यक रहेको बताइन् ।

भण्डारीले आन्दोलनका क्रममा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै हिंसात्मक गतिविधि कसरी भए भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्नेमा पनि जोड दिइन् ।