भाेलि विहान ११ बजेदेखि निषेधाज्ञा, साँझ ७ बजेदेखि शनिवार विहान ६ बजेसम्म कर्फ्यू


काठमाडौँ । पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता दिन सरकारले निर्णय गरेको छ।

जसअनुसार भाेलि बिहान ११ बजेबाट बेलुकी ५ बजे सम्म निषेधाज्ञा लागू हुने छ भने सोही दिन बेलुकी ७ बजेबाट भाद्र २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी र औषधी ढुवानी गर्ने सवारी साधनलाई सञ्चालन गर्न दिइनेछ।

त्यस्तै, विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सक्कल परिचयपत्र देखाई आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म जान र फर्कन पाउनेछन्।

काठमाडौँ उपत्यका बाहिरको हकमा भने त्यहाँको सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ।